विराटनगर । कोभिड १९ र यसको नयाँ भेरिएन्टबाट आर्थिक क्षेत्र तहस नहस हुन सक्ने भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले कामदार, श्रमिक र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले शनिबार संयुक्त विज्ञप्ति प्रकासित गरी यस्तो माग गरेका हुन ।
कोभिड १९ को दोश्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको अवस्थामा औद्योगिक क्षेत्र प्रभावित बनेको विज्ञप्तिमा जनाइएको छ ।
“भ्याक्सिन बाहेक कोभिड १९ को रोकथामको अन्य विकल्प नभएको प्रमाणित भइसकेकोले नीजि क्षेत्रका तर्फबाट भ्याक्सिनको सहज आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।
विगतमा नेपाल सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोपको प्राथमिकतामा नीजि क्षेत्र पर्न नसकेकोले महामारीको जटिल अवस्थामा अतिआवश्यक वस्तु तथा सेवाहरुको आपूर्ति व्यवस्थालाई अक्षुण राख्न र अभाव हुन नदिन निजी क्षेत्रको ठूलो योगदान गरहेको जनाइएको छ ।
महामारीको यो अवस्थाबाट सर्वसाधारण नागरिकलाई बचाउन कोरोना विरुद्धको खोप सर्वसाधारणलाई सहज रुपमा उपलब्ध हुने गरी व्यवस्था मिलाउन सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गर्नुपर्ने सरकारी प्रकृयागत जटिलता सरल बनाउँदै यथाशक्य खोप आपूर्ति गर्न माग गरिएको छ । खाोप आपूर्तिमा मूल्य लगायतको मापदण्ड निर्धारण गरी नीजि क्षेत्रलाई आब्हान गर्न समेत नेपाल सरकार समक्ष उद्योगी व्यवसायीले माग गरेका छन ।