इलाम/ इलामको फाल्गुनन्द सुकिलम्वा विमानस्थलको धावन मार्गनिर्र्माण सम्पन्न भएपनि नालि निर्माण व्यवस्थित नहुँदा धावन मार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नालि भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखीममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लोसाईडमा निर्माण भएकोे नालि वर्खानै नलागी भत्किन थालेपछि समस्या देखिएको छ ।
नालि भत्किँदा विमानस्थलभन्दा तल रहेको वस्ती जोखिममा पर्नुका साथै धावनमार्गको तल्लो भाग खोल्न थालिसकेको छ । पहिले माटो थुपारेर त्यहाँमाथि नालि बनाएको कारण भत्किएको स्थानीय बताउँछन । परिक्षण उडान पश्चात विमानस्थललाई डाउँन गर्दा खारिएको माटो थुपारेको ठाउँमा नालि निर्माण गरेको कारण पनि नालि भत्किएको स्थानीयको भनाई छ । विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे सम्पन्न र स्थायी किसिमको टर्मिनल भवन निर्माण सम्पन्न भईसकेको छ ।
वर्खाको समयमा विमानस्थलको सबै पानि नालिबाटै जाने गरेको छ । वर्खानै नलागि नालि भत्किन थालेपछि वर्खामा ठूलो जोखिम निम्त्याउने देखिन्छ । बिमानस्थलबाट माइखोला सम्मनै ढल व्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा नालि व्यवस्थापनको काम गरेपनि तल्लो क्षेत्रको नालि भत्किएको छ ।
नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनय भट्टराइले भत्किएको नालि बनाईहाल्नु भनेर भनेको थिए । केही ढिला भएकाले आज भोलिनै शुरु हुने उनले बताए । उनले भने, ‘पहिले तल्लोपटि लगाएको ग्याविनको वाल अलिक अस्तिनै भत्किएको हो, गत वर्खाभन्दा अगाडिनै नालि बनिसकेको र वर्खाको समयमा दब्नु पर्ने जति माटो दविसकेको छ, अव पहिले भत्केको वालभन्दा तलबाट रडसहितको वाल लगाउने डिजाईन छ, त्योकाम बैशाख भित्रमा सक्ने गरि काम अघिबढेको छ ।’
लामो समयसम्म निर्माण हुन नसकेको विमानस्थलमा ०७५ जेठमा फ्लाईट टेस्ट ल्याण्डीङ गरिसकेपनि कामले गति लिन सकेको थिएन । जिल्लाकै गौरवपुर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम अहिले धावनमार्ग सँगै ट्याक्सी र हवाइ पार्कीङ्ग गर्ने स्थान समेत कालोपत्र गर्ने काम सम्पन्न भईसकेको छ ।
आठ करोड ४० लाखमा निर्माणको ठेक्का पाएको आशिष आशिर्वाद स्वामीनारायण जे भीले आसफाल्ट कँक्रिट सहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको थियो । बिमानस्थलमा अहिले सम्म भएको काम वाहेक थप पुर्वाधारका लागि तारबार गर्ने, टर्मीनल भवन बनाउने काम रहेको भट्टराई बताउँछन ।
त्यस्तै सुरक्षा गार्डका लागि क्वाटर बनाउन थप १५ करोड बजेट लाग्ने अनुमान रहेको छ ।