जग्गा दलालको चङ्गुलमा परेर दलित परिवार घरबारविहीन

  • फागुन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/  जग्गा दलालहरूको चङ्गुलमा पर्दा मोरङको सुन्दरहरैँचाका एक दलित परिवार घरबारविहीन बनेको छ ।दलालहरूकै मिलोमतोमा दलित परिवारलाई घरबारविहीन बनाइएको हो । दलालहरूले फर्जी चेक दिएर एक कट्ठा घडेरी नामसारी गर्न लगाएपछि दलित परिवार घरबारविहीन बनेको हो । एक कट्ठा जग्गा महङ्गो मूल्यमा बिक्री गराइदिने भन्दै जाली चेकको झूटो विश्वासमा पारेर दलालहरूले जग्गा रजिस्ट्रेसन पास गर्न लगाएपछि ५५ वर्षीय लक्ष्मीप्रसाद दर्जीको परिवार घरबारविहीन बन्न पुगेको हो ।

सुन्दरहरँैचा–१० का छिमेकी बिचौलियाहरू ठगेन्द्र र तारा गुरागाईंसहित इटहरी बस्ने लक्ष्मी थापाको समूहले फर्जी चेक दिएर जग्गा हडपेका छन् । दर्जीका अनुसार बिचौलिया बनेका छिमेकी दलालहरूले ४० लाख रूपैयाँमा एक कट्ठा घडेरी बिक्री गर्ने बताएका थिए । उनीहरूले १० लाख आफूहरूले लिने र ३० लाख दर्जीलाई दिने छिनोफानो गरेका थिए । भएको जेथा बेचेर अन्यत्रै खेतबारी किन्ने सपना साँचेका दर्जीको परिवार पनि मागेजत्ति नै मूल्य पाइयो भन्दै जग्गा बिक्री गर्न राजी भएको थियो ।

योजनाअनुसार दलालहरूले सुनसरीको इटहरी बस्ने गरेको बताउने थापालाई खरिदकर्ता बनाएर गत पुस ११ गते बेलबारी मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन पास गर्न लगाएका थिए । त्यस बेला उनीहरूले दर्जीको परिवारलाई ५ लाख रूपैयाँ नगद र बाँकी २५ हजारको फर्जी चेक दिएका थिए । बैनाबापत पाएको ५ लाखमध्ये २ लाख रूपैयाँ बिचौलिया बनेका दलाल गुरागाईंद्वयले लगेका थिए ।

चेक लिन अस्वीकार गर्दै नगद नै चाहिने बताउँदा बिचौलिया बनेका गुरागाईंहरूले ‘हामी छिमेकी हौँ, कुनै गडबडी हुँदैन’ भन्दै विश्वास दिलाएर मालपोतको कागजातमा सही छाप गर्न लगाएको दर्जीले बताए । उनका अनुसार विश्वासमा परी सही छाप गरिसकेपछि चेक लिएर इटहरीस्थित सनराइज बैङ्कमा पैसा झिक्न जाँदा थापाको नामको खातामा पैसा नभएको भन्दै बैङ्कले चेकलाई रद्द नै गरिदियो ।

छिमेकीहरूको विश्वासमा जायजेथा बिक्री गरेर नयाँ घरघडेरी जोड्ने आशामा बसेका दर्जी र उनको परिवार अहिले बिलखबन्दमा परेको छ । पीडित दर्जीका अनुसार पैसा नदिएपछि खरिद गर्ने थापाले घर भत्काएमात्र पैसा दिने भन्दै पटक–पटक दवाब दिएकी थिइन् तर पहिले पैसा दिन भनेर दर्जीले ताकेता गर्दा एक–दुईपटक भाखा दिए पनि अहिले भने थापा सम्पर्कविहीन भएकी छन् ।

दलालहरूले भने आपूmहरूले बिचौलियाको भूमिकामात्र खेलेकोले जिम्मेवारी लिन नसक्ने बताएका छन् । आफूहरूलाई पनि दुई लाखको फर्जी चेक दिएर ठगी गरेको भन्दै उनीहरू जिम्मेवारीबाट तर्किएका छन् । ठगीमा आफूहरू पनि परेकाले खरिदकर्ता महिलाको खोजी गर्न आफूहरू पनि लागिपरेको र दुई लाख रूपैयाँ खर्च भैसकेको उनीहरूको भनाइ छ ।

चार सन्तानका बाबु दर्जी र उनकी श्रीमती हाममाया आफूहरूले जीवनभरि दुःखले कमाएर आर्र्जेको घरघडेरी जाली दलालहरूले ठगेपछि दिनरात रुँदै न्यायका लागि गुहार मागिरहेका छन् । उनले भने, ‘दलालहरूले हामीलाई झूटो विश्वास दिएर बिल्लीबाठ बनाए ।’ घरजग्गा नै नभएपछि अब कहाँ गएर बस्ने र परिवारको जीवन कसरी गुजार्ने भन्ने चिन्ताले सताएको उनी बताउँछन् । उनीहरूका दुई छोरा र दुई छोरी छन् ।

सुन्दरहरैँचा दलित समन्वय समितिका अध्यक्ष कुमार मिजारले ज्यालादारी गरेर गुजारा चलाउने दर्जी परिवारलाई दलालहरूले जालझेल गरेर बिल्लीबाठ बनाएकाले उनीहरूविरुद्ध कानुनी सङ्घर्ष गर्न सहयोग गर्ने बताए । ‘घटना भर्खरै थाहा पायौँ’, अध्यक्ष मिजारले भने, ‘ प्रहरीमा बुझेर केके कसुरमा जाहेरी दिन सकिन्छ, सबै दलालहरूविरुद्ध किटानी जाहेरी दर्ता गर्न सहयोग गर्छौं । जालझेलको पनि एउटा हद हुन्छ नि ।’

 

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved