इटहरी/ स्वतन्त्र पत्रकार सङ्घ सुनसरीले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर सोमबार इटहरीमा प्रभात फेरी गर्दै अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ ।
राजनीतिक आस्था बोके पनि कुनै राजनीतिक सङ्गठनमा आवद्ध नभई स्वतन्त्र रूपमा पत्रकारिता गर्ने सुनसरीका पत्रकारहरू प्रभात फेरीमा सहभागी थिए । प्रभात फेरीपछि उनीहरूले इटहरीकै गीतादेवी अनाथ आश्रममा खाद्यान्न वितरण गरेका थिए ।
कोभिड–१९ को महामारी पूर्णरूपमा अन्त्य नभइसकेको अवस्थामा पत्रकारहरूको टोलीले मास्क नलगाई हिँड्ने पैदल यात्री तथा सर्वसाधारणलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरसबारे सचेतनासमेत जगाएको थियो ।
सङ्घका सुनसरी अध्यक्ष खगेन्द्रजङ्ग कार्कीको अगुवाइमा सम्पन्न प्रभात फेरीमा जिल्लाका २७ जना पत्रकारहरू सहभागी थिए । हटिया लाइनबाट शुरू भएको प्रभात फेरी इटहरी चोकको परिक्रमा गर्दै गीतादेवी आश्रममा पुगेर कोणसभामा परिणत भएको थियो ।
आश्रममा खाद्यान्न वितरण गर्दै सङ्घका सुनसरी अध्यक्ष कार्कीले आगामी दिनमा सङ्घलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा सङ्घका केन्द्रीय कोषाध्यक्ष सालिग्राम पाण्डे, केन्द्रीय सदस्य मोहन ढकाल, अग्रज पत्रकार तथा कानुनविद्हरू पनि उपस्थित थिए ।