विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको छ ।
एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताए । भने,“सर्वोच्चको निर्णय स्वागतयोग्य छ । अब पार्टी अझ गतिशील भएर अघि बढ्नु पर्छ ।”
एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ । त्यसयता नेकपा अध्यक्ष पुष्पकमल दाहालदेखि केपी ओलीसम्म यही भवनमा आई कार्यक्रम सहभागी हुने गरेका थिए ।
सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा माओवादी केन्द्रलाई ब्युँताई दिएसंगै विराटनगरमा साविक एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालयमा गतिविधि शुरु गरेका हुन । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुरु बरालले देशलाई समृद्ध बनाउँदै अघि बढ्नु पर्छ भन्ने मान्यताले पार्टी एकता गरेपनि त्यसले काम गर्न नसकेको बताए । भने,“पार्टीले गति लिन सकेन ।
काम गर्न सकिएन । खासगरी प्रचण्डका गतिविधिले गर्दा नै धेरै व्यवधानहरु आएका थिए । अब सर्वोच्चले बाटो तय गरिएको छ । यो सार्थक छ ।” उनले एमालेले अब आफ्नो विगतको पहिचान झल्काउने गरी अघि बढ्नु पर्ने बताए ।
केन्द्रीय सदस्य विनोद ढकालले एउटा लक्ष्यसाथ केपी ओलीले पार्टी एकता गरेपनि त्यसमा धेरै नेता मनबाटै जोडिन नसकेको बताउँदै भने,“अब पनि आउन चाहनेलाई स्वागत गर्ने दिशामा एमाले नै अघि बढ्नुपर्छ । ढोका बन्द गर्नु हुँदैन ।”
कानुन व्यवसायी हेमराज पन्तले सर्वोच्चमा फेरि पुनरावलोकन हुन्छ भनेर संशकित हुनुपर्दैन भन्दै संविधानको मर्मअनुसार नै फैसला आएको सुनाए । उनले फैसलाको पूर्णपाठ नै आईसकेकोले फेरि के होला भन्ने द्विविधा नरहेको बताए । कार्यक्रम नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा भएको थियो । मोरङको कटहरी गाउँपालिका कार्यालयमा पनि नेकपा एमालेको बोर्ड टांगिएको छ ।