धरान/ प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जातीय विभेद तथा छुवाछुतलगायत विभिन्न समस्याबाट पीडित वनाइएको दलित समुदायको समग्र विकासका लागि उनीहरूलाई राजनैतिक संरक्षण दिनु आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको आयोजनामा जनकपुरमा सम्पन्न ‘दलित समुदायको संवैधानिक अधिकार कार्यान्वयनमा प्रदेशस्तरीय सरोकारवाला निकायको भूमिका र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा मन्त्री सोनालले यस्तो बताएका हुन् ।
दलित समुदायको विकासका लागि प्रदेश नं २ सरकार संवेदनशील रहेको बताउँदै उनले नेपालमा पहिलोपल्ट प्रदेशस्तरीय दलित सशक्तीकरण ऐन ल्याएको तथा सो ऐनअनुसार दलित विकास समितिसमेत गठन गरिसकेको जानकारी दिए । त्यस क्रममा सोनालले दलित समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीसँगै आर्थिक सशक्तीकरण तथा राजनैतिक संरक्षण हुनुपर्ने औँल्याए ।
दुई चरणमा सञ्चालित कार्यक्रमको दोस्रो सत्रमा दलित अभियन्ता तथा लेखक जेबी विश्वकर्माले सहजीकरण गरेका थिए । उनले प्रदेश २ मा दलितहरूको अवस्थाबारे प्रस्तुति गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि संविधानसभा सदस्य रामऔतार पासवानले दलित अधिकारकर्मीहरू विभाजित भएकाले केन्द्रदेखि स्थानीय तहसम्म अधिकार स्थापना हुन नसकेको बताए । उनले अधिकारका लागि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा प्रदेशसभा सदस्य श्यामपरीदेवी, प्रमिलादेवी दास, आयोजक संस्थाकी केन्द्रीय सदस्य मुन्नीदेवी दास, सन्जु बैठा, बच्चु सरबरिया, इन्सेक प्रतिनिधि बरुण बस्याल, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य रामलखन दास, दलित अधिकारकर्मी चन्दे्रश्वर दास, चन्देश्वर सदा, रामअशिष दासलगायत उपस्थित थिए ।
कार्यक्रममा प्रदेश नं २ का सामाजिक सङ्घ–संस्था र राजनैतिक दलकाका प्रतिनिधि, दलित अधिकारकर्मी र प्रदेश सांसद्हरू सहभागी थिए । आयोजक सङ्घका केन्द्रीय उपाध्यक्ष मनबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रम सङ्घका परियोजना व्यवस्थापक भवीन्द्र विकले सञ्चालन गरेका थिए । कार्यक्रमको उद्देश्यबारे सङ्घका केन्द्रीय कार्यालयका कार्यकारी निर्देशक प्रभास देवकोटाले प्रस्ट पारेका थिए भने सङ्घका जिल्ला अध्यक्ष रघुनाथ दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।