विराटनगर/ युवाकवि दीपक शम्चूको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’ को विमोचन गरिएको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई, प्राडा टङ्कप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले संयुक्त रूपमा गरेका थिए ।
‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर सिर्जना प्रकाशित भएका छन् । विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहरू समावेश गरिएको बताए । आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विषयलाई कविले सूक्ष्म रूपमा उठाएको उनको भनाइ थियो ।
कवि एवम् पत्रकार मीनकुमार नवोदितले सञ्चालन गरेको सो कार्यक्रममा कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिका कविता सुनाए । सङ्ग्रहमा ३३ वटा कविता समावेश छन् ।