इटहरी/ सामाजिक सञ्जालबाट चिनेकै भरमा विश्वास गर्दा एक किशोरीले आफ्नो कुमारित्वसँगै सम्पत्ति पनि गुमाएकी छन् । फेसबुक, म्यासेन्जर र टिकटकमा चिनजान भएकै भरमा राखिएको प्रेम प्रस्ताव र विवाहको प्रलोभनमा परेपछि धनकुटाकी एक किशोरी लुटिएकी हुन् ।
सामाजिक सञ्जालका माध्यमबाट थुप्रै महिला र किशोरीहरूलाई विवाहको प्रलोभनमा पारी लुटपाट र बलात्कार गर्दै फरार रहेको अभियोगमा इटहरी इलाका प्रहरी कार्यालयले शुक्रबार एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले कास्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय राजीव गुरुङलाई नियन्त्रणमा लिएको हो ।
गुरूङ ती किशोरीलाई इटहरीको एक होटलमा तीन दिन सँगै राखेर उनको इच्छाविपरीत करणी गरी गरगहना र नगदसमेत लुटेर भागेको प्रहरीले जनाएको छ । किशोरी बाथरुममा नुहाउन गएको मौका छोप्दै उनले लगाएका सुनको ४ आनाको झुम्का, १० आनाको ब्रास्लेट, ६ आनाको सिक्री, नगद २७ हजार पाँच सय रूपैयाँ, साङ्ग्रिला बैङ्कको एक थान एटीएम कार्ड र एक थान हवाई होनर मोबाइलसमेत चोरी गरी गुरुङ फरार भएका थिए ।
नुहाएर बाहिर निस्कँदा मान्छेसहित गहना र पैसा नभेटेपछि आफू लुटिएको भन्दै किशोरीले इटहरी प्रहरीमा उजुरी गरेकी थिइन् । विवाहको प्रलोभन देखाएर गत माघ २५ देखि २७ गतेसम्म इटहरीको आरआर होटलमा राखेर नियमित बलात्कार गरेको उजुरीमा उल्लेख छ । उजुरीपछि खोजतलासको क्रममा प्रहरीले उनलाई शुक्रबार इटहरी–१३ बाट नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।
गुरूङले यसअघि पनि झापाकी एक महिलालाई म्यासेन्जरमार्फत् विवाहको प्रलोभन देखाएर रकम लुटेको अनुसन्धानबाट खुलेको इटहरी प्रहरीले जनाएको छ । गुरूङले म्यासेन्जर र टिकटकमार्फत् धेरैलाइ साथी बनाउने र पारिवारिक वातावरण बुझेर विवाहको प्रस्ताव राख्दै शारीरिक सम्पर्कपछि नगद लुटेर हिँड्ने गरेको अनुसन्धानको क्रममा खुलेको इटहरीका डीएसपी अर्जुन केसीले बताए । उनले ती किशोरीसँग पनि शुरूमा म्यासेन्जरमार्पmत् चिनजान अघि बढाएको र टिकटकमा सामिप्यता बढाएको बताए ।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै इन्टनेट र सामाजिक सञ्जालको दुरूपयोग हुँदा यस्तो घटना बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाउँछ । नचिनेको मान्छेसँग सामाजिक सञ्जालमा सामिप्यता नराख्न र कसैले सञ्जालकै प्रयोगबाट रकम मागे वा दुव्र्यवहार तथा अपमानजनक व्यवहार गरे नजिकैको प्रहरी कार्यालयमा खबर गर्न इटहरी प्रहरीले अनुरोधसमेत गरेको छ ।