इलाम / महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन–अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताएका छन् । यहाँस्थित उच्च सरकारी वकिल कार्यालयकोे नवनिर्मित भवनको भर्चुअल प्रविधिबाट उद्घाटन गर्दै उनले राम्ररी अध्ययन गरेरमात्र मुद्दा चलाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
अपराध गर्ने मान्छेले पनि सतर्कताका साथ अपराध गर्ने बताउँदै खरेलले प्रमाणहरू जुटाउन सरकारी वकिलहरूको गम्भीर दायित्व रहेको जनाए । आफू सुविधा सम्पन्न भवनमा बसेर मात्र नहुने भन्दै उनले काममा पनि सुविधा दिनुपर्ने बताए ।
उच्च सरकारी कार्यालयले भ्याटबाहेक ३ करोड २२ लाख ५ हजार ३०० रूपैयाँ लागतमा भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित पाँचतले भवनमा १८ वटा कोठा छन् ।
लिफटसहित अपाङ्गमैत्री भवनमा पुस्तकालय, अभिलेखालय र सभाकक्षको सुविधा रहेको इलामका सहन्यायाधिवक्त लक्ष्मण उपाध्याय घिमिरेले जनाए ।
२०७८ जेठ २३ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने गरी इलामको जोशी नायग्रा शंकर जेभीले गत वर्ष जेठ २४ गते ठेक्का लिएको थियो । कम्पनीले निर्धारित मितिभन्दा अगाडि नै जिम्मा लगाएको छ । कार्यालयमा लामो समययता उत्कृष्ट काम गरेको भन्दै पाँचजना कर्मचारीलाई सो अवसरमा सम्मान गरिएको छ ।