धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने परीक्षार्थीले ट्रायलमा सफल हुन नसके अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै ट्रायलको समयावधि बढाएर १८ महिनासम्म ट्रायल दिन पाउने निर्णय गरेको जानकारी दिएको हो ।
विभागले सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र त्यसबमोजिम हुने गरी विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरी ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।
यसअघि लिखित परीक्षा उत्तीर्ण गरेको तीन महिनाभित्र तीनपटकसम्म ट्रायल दिन पाउने व्यवस्था रहेकोमा विभागले कोभिड–१९ का कारण लामो समयदेखि लिखित परीक्षा उत्तीर्ण गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएको छ ।
यससँगै लिखित परीक्षा उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकाले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।