विराटनगर/ राजवंशी समुदायले प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गर्दै विराटगरमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ ।
महाभारतकालीन पौराणिक इतिहास रहेकोे दाबी गर्दै राजवंशी समुदायका अगुवाले मत्स्य देशका राजा विराटसँग जोडिएका पौराणिक तथ्यको आधारमा प्रदेश १ को राजधानी विराट हुनुपर्ने माग गरेका हुन् । राजवंशी समाज उत्थान समितिले पत्रकार सम्मेलन गरी आफ्नो पहिचान जोगाउन सङ्घर्षका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेको छ । आदिवासी जनजाति प्रतिष्ठानमा छुट्टै सूचीकृत हुन पनि उनीहरू सङ्घर्षरत् छन् ।
अध्यक्ष भूवनेश्वर मण्डलले आगामी फागुन ६ गते विराटनगरमा बृहत् भेला आयोजना गरिने बताए । मोरङ, सुनसरी र झापामा छरिएर बसेका उनीहरूले जातीय उत्थान, पहिचान र अधिकारका लागि एकीकृत भई माघ ३० गते सुरु गर्ने गरी सङ्घर्षका चरणबद्ध कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।
उनीहरूले जातीय उत्थान, अधिकार र पहिचानको स्थापना गर्न प्रदेश १ को नाम विराट प्रदेश राखिनुपर्ने माग गरेका छन् । उनीहरूले ९ बुँदे माग अगाडि सारेका छन् ।