इलाम÷ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) इलामले हत्यारालाई कारबाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।
देशमा पटक–पटक बलात्कारपछि बालिकाको हत्या भइरहँदा पनि हत्यारा पत्ता नलाग्नु लज्जास्पद भएको भन्दै तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । केही दिनअघि बैतडीकी एक बालिकामाथि भएको बलात्कार र हत्याको तुरुन्त छानबिन गर्न आग्रह गरिएको छ ।
बालिका भट्ट विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । माघ २१ गते बेपत्ता भएकी भट्टको भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।