इलाम/ इलामको शहरी खानेपानी आयोजनाले ५७ करोड ९५ लाख रूपैयाँको लागतमा सुरु भएको आयोजनाबाट आगामी चार महिनाभित्र सदरमुकाममा पानी खसाल्ने बताएको छ ।
कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले काममा केही ढिला भए पनि चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको हो । ७५ प्रतिशत सम्पन्न सकिएको बताइएको छ ।
माईमझुवाका मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए । २३ किलोमिटर लामो पाइपलाइन रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी छ ।
तीनवटा सेडिमेन्टेसन ट्याङ्की जस्बीरेमा छन् । तिनको काम पनि सम्पन्न हुन लागेको छ । पानी शुद्धीकरण ट्याङ्कीहरू पनि चारखाँदेमा तयार भइसकेका छन् । अहिले फिनिसिङको काम भइरहेको धिमालको भनाइ छ । आयोजनाका १० वटा आरबीटी (ट्याङ्की) बनाउने कामसमेत धमाधम भइरहेको र केही सम्पन्न भइसकेको उनले बताए ।
नगरपालिकामा यसअघि आपूर्ति गर्ने गरिएको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर तथा मेवा र रातेखोलाबाट १०–१० लिटर तथा भाँडीखोलाबाट पाँच लिटर पानी ल्याइने छ । वितरण पाइपलाइनसहित एक सय ५० किलोमिटरमध्ये एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
आयोजनाअन्तर्गत इलाम नगरपालिका–६, ७, ८ र ९ का चार हजार एक सय धारामा चौबीसै घण्टा खानेपानी आउने बताइएको छ ।
नेपाल सरकारको मापदण्डअनुसारको पानी प्रतिसेकेन्ड ४१ लिटरका दरले आउने जनाइएको छ । दुई हजार घरसम्म पाइपलाइन पु¥याइसकिएको छ । तिनमा मिटर र धारा जडान गर्नमात्र बाँकी छ ।
एसियाली विकास बैङ्क (एडीबी) को मुख्य लगानी रहेको आयोजनामा रमण कन्स्ट्रक्सन एन्ड जीआईईटीसी जेभीले काम गरिरहेको छ । २० वर्षसम्म डिजाइन अवधि रहेको आयोजनाका लागि चारवटा इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौवटा पानी ट्याङ्की र चार हजार एक सय निजी धारा रहने उल्लेख छ ।
आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडीबीले व्यहोेर्ने छ । सुरुको लागत अनुमान करीब ८३ करोड रूपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी रकम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रूपैयाँ ऋण लिएको हो ।
कम्प्युटरबाटै भल्भ नियन्त्रण गर्ने
आयोजनाअन्तर्गत पानीका भल्भहरू कम्प्युटरबाटै नियन्त्रण गर्न सकिने नयाँ प्रविधि पनि जोड्न लागिएको छ । वितरण ट्याङ्कीका गेटभल्भहरू नियन्त्रण गर्न ट्याङ्कीसम्म पुग्नुपर्ने छैन । कार्यालयमा रहेको कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । यो प्रविधि नेपालमा पहिलोपल्ट इलाम, भोजपुर र खोटाङमा प्रयोग गर्न लागिएको धिमालले जनाए ।