धरान: धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (बुधबार)बाट कोभिड १९ विरूद्धको “कोभिसिल्ड” खोप लगाउन सुरू गरीएको छ ।
आज विहान साढे १० बजे प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले खोप लगाउँदै अभियानको शुभारम्भ गरेका छन ।
नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी गरे अनुसार नै आजबाट प्रतिष्ठानको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लगायतहरूलाई खोप लगाउने कार्य सुरू भएको उपकुलपति गिरीले जानकारी गराए ।
खोप लगाएपछि आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको र खोप शतप्रतिशत सुरक्षित रहेको उनले बताए ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा। डा। गुरू खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा। डा। गौरीशंकर साह समेतले खोप लगाएका थिए ।
पदाधिकारीहरूबाट खोप लगाउने कार्य सुरू गरी खोप सुरक्षित रहेको सन्देश प्रवाह गरीएको रजिष्ट्रार रेग्मीले जानकारी गराए । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १ सय ५० भाइल खोप आइपुगेको संगै खोप कार्यक्रम सुरू गरीएको हो ।
१ भाइल खोपमा ५ एमएल हुन्छ, एक जनालाई ०।५ एमएल खोप लगाउनुपर्ने प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा। प्रमोद वरालले बताए ।
‘एक भाइलले ८ देखि ९ जनालाई पुग्ने अनुमान गरिएको छ भने १ सय ५० भाइलले १३ देखि १४ सयलाई पुग्ने अनुमान छ ।’ डा। वरालले भने, खोप लगाएपछी ३० मिनेटसम्म राख्नका लागी व्यवस्था गरीएको छ ।
खोप लगाएको व्यक्तिलाई केही समस्या देखिन्छ भनि सावधानिका लागी उक्त प्रकृया गरीएको हो । केही भएमा उपचारको लागी सम्पूर्ण व्यवस्था रहेको छ ।’
खोप लगाउनको लागि ५ जनालाई तालिम दिइएको र एक पटकमा ४ जनाले खोप लगाउने व्यवस्था रहेको उनले बताए । प्रतिष्ठानमा कार्यरत २५ सय स्वास्थकर्मी तथा कर्मचारीहरूलाई खोप लगाइनेछ । पहिलो चरणको खोप कार्यक्रम एक साता सम्म चल्ने डा। वरालले जानकारी गराए ।