धरानः कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको “कोभिसिल्ड” खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार धरानको वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलसहित सुनसरीमा ४ ठाउँमा केन्द्र बनाएर खोप लगाउने तयारी छ ।
उनका अनुसार इटहरी अस्पताल र इनरुवा अस्पतालमा पनि खोप केन्द्र राखिएको छ ।
नेपाल सरकारले बुधबारबाट देशव्यापी रूपमा कोभिड विरूद्धको खोप लगाउने तयारी अनुसार नै भोलिबाट फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायत कर्मचारी लगायतहरूलाई खोप लगाइने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी गराए ।
कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत सबै स्वाथ्यकर्मीहरू, स्थानिय सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप लगाउनका लागी नेपाल सरकारबाट निर्देशित भएअनुसार नै सुरु गर्न लागिएको हो ।
सहप्रवक्ता पोखरेलले भने,‘खोपका लागी आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थकर्मी तथा कर्मचारीहरूमा भोली विहान साढे १० बजेबाट पेइङ वार्ड २ मा खोप लगाउने कार्य सुरू गरीनेछ ।’
के हो कोभिसिल्ड खोप?
कोभिसिल्ड खोप बेलायतको अक्सफोर्ड विश्वविध्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरी भारतको सिरम इन्स्टिच्युटले तयार गरेको हो ।
सहप्रवक्ता पोखरेलले भने, यस खोप अन्य विभिन्न राष्ट्रहरूमा गरीएको परिक्षणमा ९० प्रतिशत सम्म प्रभावकारी भएको पाइएको छ । यसले शरिरमा कोभिड विरूद्धको एन्टिबडी निर्माण गरी कोभिड लाग्नबाट बचाउनेछ ।