विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्र्पण गर्दै आएको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ स्याङ्जाका युवा साहित्यकार मिलन समीरलाई समर्पण गरिएको छ ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका वरिष्ठ कवि एवं गतिकार एसपी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे, आयोजक संस्थाका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, सुदीश निरौलाकी माता टीका निरौलालगायत दोसल्ला ओढाएर नगद १५ हजार रुपैयाँ र सम्मान पत्र समर्पण गरे ।
पुरस्कृत युवा साहित्यकार समीर विगत दुई दशकदेखि साहित्य सिर्जनामा सक्रिय छन । बहुमुखी प्रतिभाका धनी सुदीशको सवारी दुर्घटनामा निधन भएपछि आमा टीका र बुवा गोविन्दले प्रतिष्ठानमार्फत वितरण गर्ने गरी पुरस्कार स्थापना गरेका हुन ।
हरेक वर्ष एकजना सक्रिय युवा साहित्यकारलाई सो पुरस्कार समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए । यसअघि सो पुरस्कारबाट युवा साहित्यकार महेश पौड्याल र सोझो गाउँले पुरस्कृत भएका थिए ।
कार्यक्रममा भूषण ढुंगेल, गोकुल अधिकारी, भरत गुरागाईं बर्बरिक, चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जुश्री गिरी, उमेश लुइँटेल, हरि कट्टेल, लक्ष्मी श्रेष्ठ, ममता मृदुल, प्रयाग न्यौपाने, सविना श्रेष्ठल, रोमा निरौला, लक्ष्मी आचार्य, कविता केशरी, जमुना पौडेल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाले आ–आफ्ना मुक्तक वाचन गरेका थिए ।