विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिइने ट्रायल संचालन गर्ने जिम्मा निजी क्षेत्रलाई नदिन माग गर्दै प्रदेश १ को सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।
सरकारी सेन्टरबाट नै ट्रायल लिने व्यवस्था गर्न माग गर्दै प्रदेशको सार्वजनिक लेखा समितिमा विद्यार्थी नेता ओसिम आलमले उजुरी दिएका हुन । प्रदेश सरकारले सरकारीको साटो निजीलाई प्रोत्साहन गर्न खोजेके र अनियमितताको गन्ध आएकोले छानबिनका लागि उजुरी दिइएको आलमले बताए ।
सार्वजनिक लेखा समितिका सभपति शिवनारायण गन्गाईलाई दिएपछि आलमले भने, “बिचौलियालाई फाइदा पुग्ने देखिएकोले उपभोक्तालाई थप आर्थिक भार नपरोस भनेर हामीले बेलैमा विरोध गरेका हौं ।” सार्वजनिक लेखा समिति सभापति गन्गाईले छानबिन गरी प्रदेश सरकारलाई आवश्यक निर्देशन दिइने बताएका छन ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलले निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई परिपत्र गरिसकेको छ । जसअनुसार ट्रायल सेन्टर सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने उल्लेख छ ।
यातायात व्यावस्था कार्यालय झापाले जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको ट्रायल सेन्टर बन्द गरेर निजी क्षेत्रलाई दिने तयारी गरेको छ । सुनसरीले पनि यस्तै तयारी थालेको छ ।