इटहरी । बढदो शहरीकरणसंगै ब्यापारीक सुरक्षा र शहरलाइ अपराधमुक्त बनाउने उद्देश्यका साथ बिभिन्न सामाजिक संघ संस्थाहरूले इटहरी क्षेत्रमा करिब ३ वर्ष अघि सिसि क्यामेरा जडान गरिदिएका थिए ।
जडान गरिएका क्यामेराहरु मर्मत सम्भार हुन नसक्दा अहिले अधिकांश सिसि क्यामेरा बिग्रिएर थन्किएका छन् ।
इटहरी क्षेत्रको मुख्य राजमार्ग तथा चौकहरूमा राखिएको सिसि क्यामेरा बिगत २ बर्षदेखि बिग्रिएरका छन् । इटहरीका मुख्य राजमार्ग र चोक आसपास २७ वटा क्यामरा जडान गरिएकोमा हाल ७ वटाले मात्र काम गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
क्यामेराकै सहायताबाट इटहरी प्रहरीले अपराध अनुसन्धानमा ठुलो सफलता समेत पाउदै आएको थियो । बैशाख देखि मंसिर मसान्त सम्म इलाका प्रहरी कार्यालय इटहरीले सिसि टिभिको फुटेजकै सहायताले ९ जना भन्दा बढी अपराधमा संलग्न ब्यक्तिहरूलाइ पक्राउ गरिसकेको छ ।
सिंगो शहरलाइ एउटै काठाबाट निगरानी गर्न सक्ने क्षमता राखेको सिसि क्यामेराहरू बिग्रिएको २ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले त्यसलाई मर्मत गर्ने चासो नदेखाउँदा अपराध न्युनिकरणमा प्रहरीलाइ बाधा भइरहेको छ । इटहरीको मुख्य चौक आसपास मात्रै १४ वटा क्यामेराहरू जडान गरिएका छन ।
जसमा ४ वटाले मात्र काम गरिरहेको छ भने राजमार्गहरूमा जोडिएका १३ वटा क्यामेरा मध्ये ३ वटाले मात्र काम गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
मुख्य चौक अन्तरगत बिरेन्द्र चौकमा मात्रै ४ वटा सिसि क्यामेरा जडान गरिएकोमा एउटा मात्रै चालु अवस्थामा रहेको छ । राजमार्गमा हुने गरेका आपराधिक क्रियाकलाप, दुर्घटना जस्ता घटनाहरुको निगरानी संगै नियन्त्रण गर्न सहजता हुने क्यामेरा बिग्रिएपछि ट्राफिक प्रहरीहरू पनि थप समस्यामा परेका छन । रातको समयमा हुने दुर्घटना न्युनिकरणमा पनि सिसि क्यामेराको पनि ठुलो भुमिका रहेको थियो ।
इटहरी उद्योग बाणिज्य संघ, उपमहानगरपालिका सहित केही ब्यवसायीहरूले प्रहरी सँग सहकार्य गरी २७ वटा सिसि क्यामेरा जडान गरी मोनिटरीङ गर्न इटहरी प्रहरीलाइ जिम्मा लगाएका थिए ।
बिग्रिएको सिसि क्यामेरा मर्मत गर्न उपमहानगर र उद्योग वाणिज्य संघ लाइ जानकारी गराए पनि सुनुवाइ नै नभएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केशीले बताए ।
उनले भने, ‘छ भन्दा छ, तर खै भन्दा देखाउनै ठाउँ नै भएन ।’ सुरक्षा ब्यवस्था र ब्यवसायीक हित एवम अपराधिक घटना न्युनिकरणका लागि जडान गरिएको सिसि क्यामरा बिग्रिएपछि अहिले हात्तिको देखाउने दाँत जस्तै बनेको स्थानीयहरु बताउँछन् ।
बिग्रिएको क्यामारा पुनःमर्मतका लागि ढिलाई भएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल स्वीकार्छन् । उनले केहि समय अघि पनि पुनः मर्मत गरी चालु अवस्थामा ल्याएको तर इलेक्ट्रोनिक्स सामानहरूको भर हुन्न भने जस्तै भएको बताए ।
इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले ६ लेन राजमार्ग निर्माणका कारण ध्यान नगएको बताए । उनले बिग्रिएको सिसि क्यामेराहरुको खराबि पत्ता लगाइ हर सम्भव मर्मत गर्ने अन्यथा नयाँ जडानका लागि आवश्यकीय पहल गर्ने बताए ।