इटहरी । निर्माण शुरू भएको ७ वर्ष पुगिसक्दा पनि रानी देखि धरान ६ लेन सडकखण्डले पुर्णता पाउन सकेको छैन । त्रिदेशीय जोड्ने सडक रानी देखि किमाथाङका सम्मको राष्ट्रिय योजनाको सडक अन्र्तगतको रानी बिराटनगर इटहरी धरान ६ लेन परियोजना निर्माण कार्य अहिले इटहरी सम्म आइपुगेको छ । आर्थिक वर्ष २०६९÷७० बाट विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्म ६ लेन सडकको निर्माण कार्य शुरू भएको थियो ।
निर्माण कम्पनिले ५ वर्ष भित्र योजना पुरा गर्ने भनि नेपाल सरकार संग सम्झौता गरी काम अघि बढाएको ७ वर्ष बितिसक्दा पनि अहिले सम्म ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । पटक पटकको सडक क्षेत्रको बिवाद र विविध कारणले निर्माणको कार्यहरू रोकिदै पुनःसुचारू हुने गर्दा समयमै पुर्णता नपाएको ६ लेन सडक परियोजनाको कार्यालय इटहरीले जनाएको छ । रानी देखि निर्माण हुदै आएको राजमार्ग हाल इटहरी सम्म आइपुग्दा दुहबीमा भने स्थानीयहरूको अवरोधका कारण निर्माण प्रक्रियाले गति लिन सकेको छैन ।
राजमार्गको दुवै भागमा ३०–३० मिटर फराकिलो चौडाइ मापन अनुसार निर्माण गर्ने भनिए पनि राजनीतिक चलखेलका कारण शहरै पिच्छे फरक फरक मापदण्ड तोकि परियोजनाको काम भइरहेको छ । १० अर्ब ९८ करोडको अनुमानित लागतमा निर्माण थालीएको योजनाको निर्माण कार्यले गति लिन नसक्दा परियोजना सम्पन्न गर्न अझै केही वर्ष लाग्ने अनुमान गरिएको छ ।
मापदण्डकै कारण विवाद चर्किदा सुनसरीको दुहबीमा अझै निर्माण प्रक्रिया शुरू भएको छैन । सरकारले राजमार्गको दुवै भागमा ३०–३० मिटर क्षेत्रअधिकार कायम गरी निर्माण प्रक्रिया थाल्न आदेश दिएपनि परियोजनाले स्थानीय सरकारसंगको सहकार्यमा २५–२५ मिटर कायम गरी काम अघि बढाइरहेको परियोजनाका इन्जिनियर गौतम देवले बताए । उनका अनुसार इटहरीमा बनेका सडकको मापदण्ड बिराटनगर पछिको ठुलो चौडाइ र फराकिलो रहेको छ । राजमार्ग बिस्तार गर्दा इटहरीमा खानेपानी पाइप र बिद्युतको पोल मुख्य चुनौति बनेको इञ्जिनियर देवले बताए । उनले भने, ‘खानेपानीको पाइप हटाउने काम लगभग सकिएको छ, बिद्युतको पोलहरू सार्ने काम धमाधम भइरहेको छ, एक साता देखि १५ दिन भित्र काम सकिन्छ ।’
इटहरी देखि तरहरा चारकोशे जंगलको पानीपिया सम्मको राजमार्ग बिशेष हुने भएको छ । करीब ५ किलोमिटर सडकको बिच भागमा ५ मिटर सम्मको बगैचा निर्माण हुने परियोजनाको कार्यालयले जनाएको छ । छुटयाइएको बिच भागबाट सोलर बत्ती जडान सहितको आकर्षक बगैचा निर्माण गरिने भएको छ । इन्जिनियर देवले भने, ‘यसो गर्दा बातावरणीय हिसाबले शहरको शौन्दर्यता बढनुका साथै इटहरी भित्रने पर्यटकहरूले यस्को प्रत्यक्ष दृष्य अवलोकन गर्न पाउनेछन् ।’ अहिले इटहरी क्षेत्रमा पर्ने सडकको दुवै भाग ग्रावेलको काम सकिएर कालोपत्रे गरिएको छ भने बगैचाको निर्माण प्रक्रिया पनि अघि बढिसकेको छ ।
चारकोशेमा ४ लेन मात्र
सडकको निर्माण प्रक्रिया चलिरहदा चारकोशे झाडी अन्तरगत १५ सय रूखहरू काटीएका छन । तरहराको पानीपिया देखि धरानको तिनकुने सम्म बन्ने भएको ४ लेन सडकमा पर्ने रुखहरु काटिएको कार्यालयले जनाएको छ । परियोजनाले ६ लेनको सडक बनाउने भने पनि जंगल क्षेत्रमा सवारीसाधनको चाप त्यति नहुने भएकोले ४ लेनको मात्र सडक बन्ने भएको हो । जंगल क्षेत्रमा ६ लेन सडक बिस्तार गर्दा धेरै नै रूखहरू काटिने भएकोले बन बिनास हुने खतरा बढेकोले ४ लेनमै सिमित गरिएको इञ्जिनियर देवले बताए ।
धरानमा अन्यौल कायमै
राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरीएको ६ लेन राजमार्ग धरानमा भने अन्यौलता कायमै छ । धरानको तिनकुने हुदै बजारबाट राजमार्ग लैजाने या सेउतीबाट बाइपास गर्ने भन्ने बिषयले निकास पाउन नसक्दा निर्माणको प्रक्रिया ओझेलमै रहेको हो । बजारबाट सडक बिस्तार गर्दा थुप्रै ब्यापारीक भवनहरू भत्किने देखिन्छ भने सेउतीबाट बाइपास गरी राजमार्ग लैजादा सुकुम्बासी बस्तिहरू विस्थापित हुने बिवाद रहेकोले परियोजना अघि बढ्न सकेको छैन् । पटक पटक बिवाद सुल्झाउन स्थानीय सरकारले छलफल गरे पनि समाधान हुन सकेको छैन् । केन्द्रले पनि स्थानीय सरकारकै पहलमा बिवाद सुल्झाउन अनुरोध गरेपछि अहिलेलाई थाती राखिएको छ ।
बनाइ नसक्दै भत्किए सडक
रानी देखि इटहरी हुदै धरान सम्म जोडने ६ लेन सडक बनाइ नसक्दै ठाउँ ठाउँमा भत्कीन थालेका छन । बिराटनगर देखि खनार सम्म आइपुग्दा धेरै स्थानमा खाल्डो परिसकेको छ भने इटहरी र तरहराको बिचमा पनि खाल्डा खुल्डी बनेका छन ।
केहि समय अघि कालोपत्रे गरिए पनि इटहरी र तरहरा बिचको सडकहरू खाल्डो परेका छन् । २०७४ कार्तिक देखि आशीष–सन्तोषी लुम्बिनी जेभीले ठेक्का लिएको सडक २ पटक कालोपत्रे भइसकेको छ । त्यस्तै बिराटनगर देखि खनार सम्मका सडक पनि खाल्डो पर्नुका साथै कालोपत्रे उक्किदै गएको छ भने खनार क्षेत्रमा भत्किन थालेको छ ।