इटहरी । कोरोना भाइरस संक्रमणको कारण सिंगो मुलुक नै अस्तब्यस्त भइरहेको बेला सुनसरिको इटहरी उपमहानगर भने बिकासको लहर समात्न ब्यस्त बनेको छ ।
कोरोना कहर चलिरहदा पनि इटहरीमा बिकासका काममा भने कुनै अवरोध नआएको प्रस्ट देखिएको छ । आइतबार एकै दिन इटहरी उपमहानगरमा ४ वटा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ ।
इटहरीको वार्ड नं ४,१९ , ११ र १३ वडामा भवन शिलान्यास गरिएको हो । वडा नं ११ मा बिहान उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए भने बाकिका तिनवटामा मेयर चौधरी संगै उपमेयर लक्ष्मी गौतमले पनि शिलान्यास गरेका थिए । अब इटहरीको १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण हुने भएको छ ।
स्वास्थ्य इकाई शिलान्यास गर्दै प्रमुख चौधरीले इटहरीको गाँउवासीलाई उपमहानगरवासी भएको अनुभूत हुने गरि विकासका कार्य भइरहेको जानकारी दिए । जनसहभागितामा इटहरीले विकासको गति लिएको जनाउदै प्रमुख चौधरीले स्वास्थ्य इकाइ भवन निर्माणमा पनि स्थानीयको उल्लेख्य सहयोग रहने अपेक्षा गरे ।
यहि आर्थिक वर्षमा १४ वटा वडामा भवन निर्माण सकेर सेवा सुचारु गरिने उपप्रमुख लक्ष्मी गौतमले वताइन। स्वास्थ्य इकाईका लागि आवश्यक पर्ने फर्निचरहरु खरिद गरिसकिएको उनले जानकारी दिइन।