इटहरी । कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहेका बेला इटहरीले बुधबार देखि पीसीआर परिक्षण बन्द गरेको छ । कोभिड १९ अस्पताल अन्तरगत मोरङको बिराटनगर स्थित कोशी अञ्चल अस्पताल र सुनसरीको धरान स्थित बिपि प्रतिष्ठानले आवश्यकीय रिएजेन्ट अभाव भएको कारण देखाउदै परिक्षणका लागि पठाइने स्वाब नलिने जानकारी गराएको छ ।
संक्रमण समुदाय स्तरबाट पनि नियन्त्रण बाहिर पुगेपछि उपमहानगरले इटहरीको बिभिन्न क्षेत्रलाइ रेडजोन र निषेधित क्षेत्र तोकि अनुगमनलाइ तिब्रता दिइरहेको छ, तर अचानक पीसीआर परिक्षण बन्दको सुचना जारी गरेपछि सम्बन्धित सरोकारवालाहरूले पनि चासो देखाएका छन । उपमहानगरले गत मंगलबार एक सुचना जारी गर्दै नगरवासीहरूको पीसीआर परिक्षण बन्द गरिएको जानकारी गराएको थियो ।
इटहरी नागरिक समाजका सदस्य सुरेन्द्र तामाङले अहिलेको बिद्यमान अवस्थामा किट तथा रिएजेन्ट अभाव देखाउदै स्वाब संकलन नगर्न र नपठाउन गरिएको अनुरोध अस्वीकार भएको बताएका छन । समस्याबारे प्रदेश सरकार र संघिय सरकारलाइ जानकारी गराइ तत्काल आवश्यकीय सामग्रीहरू उपलब्ध गराइ पुनःस्वाब संकलनको कार्यलाइ तिब्रता दिनुपर्ने उनको भनाई छ ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले पनि संक्रमितको दर दैनिक २ गुणाले बढिरहेको बेला पीसीआर परिक्षण बन्द गर्न नहुने बरू समस्याको समाधान तर्फ तिनै तहका सरकार लागि पर्नुपर्ने बताए । सुचना बारे जानकारी नपाएका नगरवासीहरू भने पीसीआर परिक्षणका लागि जनता कलेज सम्म धाउन बाध्य बनेका छन् ।
यता इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले संक्रमणको स्थिति भयावह बनेको र यहि समयमा दुवै कोभिड अस्पतालले संकलन गरिएका स्वाब परिक्षणका लागि नलिने बताएपछि अर्को ब्यवस्थापन नहुञ्जेललाइ पीसीआर परिक्षण रोकिएको तर बन्द नभएको बताईन् । उनले भनिन्, ‘आवश्यकीय समन्वय र सम्बन्धित निकायहरू संग साथै मेयरसाब संग सल्लाह भइरहेको छ चाहै समाधान निस्कन्छ ।’
यसैबिच कोबिड १९ कोरोना भाइरसको संक्रमण नियन्त्रणका प्रयासहरू मध्ये यसै साताबाट अनुगमनको कामलाइ तिब्रता दिइएको छ ।
जिल्ला प्रसाशन कार्यालय सुनसरीका प्रतिनिधि, उपमेयर लक्ष्मी गौतम, स्वास्थ्य शाखाका कर्मचारी लगायतको उपस्थितिमा बजार अनुगमनलाइ तिब्रता दिइएको हो । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै रेडजोन तोकिएको क्षेत्रमा सञ्चालित भएका बजारहरूमा सुरक्षा सतरकता अपनाएको छ या छैन, ब्यवसायीहरू आफैले मास्क र सेनिटाइजर प्रयोग गरेका छन कि छैनन भन्ने बिषयमा अनुगमन गरिएको जनाएको छ । साथै बजारमा मास्क नलगाइ हिडडुल गर्ने स्थानीयहरूलाइ नियन्त्रणमा लिएर १ सय जरिवाना सहित १ थान मास्क प्रदान गरिएको पनि जनाइएको छ ।