धरान । लकडाउन खुल्ला भए सँगै बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले स्वास्थ्य प्रोटोकल पालनाको अनुगमन गर्ने भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको उपस्थितीमा भएको बैठकमा नागरिकहरु सचेत नभएकै कारण कोरोना संक्रमण फैलिदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको छ । मंगलबार देखि अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए ।
उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा मंगलबार देखि अनुगमन गरिने भएको छ । स्वास्थ्य प्रोटोकल अनुसार माक्स नलगाएको, दुरी कायम नगरेको, सेनिटाइज वा हात धुने व्यवस्था नभएको बारे अनुगमन हुने उनले बताए । उल्लंघन गरिएको पाइए सय रुपैया जरिवाना गर्ने पनि निर्णय भएको छ । अनुगमन टोलीमा इलाका प्रशासन, इलाका प्रहरी, सशस्त्र, उद्योग वाणिज्य संघ सहितको टोलि रहने छ । बैठकमा होम आइसोलेसनमा भएकाहरुको अवस्था बारेमा पनि अनुगमन गर्नेबारे छलफल भएको थियो । तर, यसबारेमा निर्णय भने नभएको मेयर राईले बताए ।