धरान । कोरोना पुष्टि भएकी विराटनगरकी एक महिलाको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
शुक्रबार साँझ प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो । विहिबार कोरोना पुष्टि भए पछि विराटनगर ११ की ४३ वर्षिया महिलालाई न्युरो अस्पताल विराटनगरले रिफर गरिदिएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई श्वासप्रश्वासमा कठिनाई भएको थियो भने ३ दिन देखि पेट र छाती दुख्ने समस्या रहेको थियो । उनी ४ वर्ष देखि उच्च रक्तचापको बिरामी थिईन् ।
मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या २२ पुगेको छ ।