धरान । समुदायको लापरवाहीका कारण धरान कोरोना संक्रमणको उच्च जोखिम तर्फ अघि बढ्दै गएको छ । नगरपालिकाले लकडाउन घोषणा गरे पनि समुदायले सुरक्षा सतर्कता नपनाउँदा जिल्लाकै धेरै कोरोना संक्रमण रहेको नगर बनेको छ भने जिल्लामै मृत्यु हुने एउटा मात्रै शहर बनेको छ ।
पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा फैलिएको कोरोना संक्रमणले मंगलबार बिहान सम्ममा ६ जनाको ज्यान लिइसकेको छ भने १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । वडा नम्बर २० बाहेकका सबै वडाहरुमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ । मृत्यु हुनेहरुमा वडा नम्बर १५ मा दुई जना, १७ मा एकै परिवारका दुई जना, वडा ८ र ११ मा १÷१ जना रहेका छन् ।
कोरोना संक्रमणबाट नेपालको मृत्युदर ० दशमलव १ प्रतिशत हुँदा धरानको मृत्युदर २ दशमलव ९ प्रतिशत पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनले भने, ‘नेपालमा कुल कोरोना संक्रमितको संख्याको आधारमा मृत्युदर करिब ० दशमलव १ प्रतिशत रहेको छ, धरानमा कोरोना संक्रमितको सँख्याको आधारमा २ दशमलव ९ प्रतिशत पुगेको छ ।’ धरानमा दैनिक जसो ८ जना सम्ममा कोरोना संक्रमण देखिन थालेको उनको भनाई छ । विश्वका अन्य मुलुकमा देखिएको कोरोनाको संक्रमण र मृत्युदर ३ देखि ७ प्रतिशत सम्म पुगेका छन्, धरानमा २ दशमलव ९ प्रतिशत उच्चदर रहेको उनले बताए ।
कोरोना संक्रमण बढ्न थाले पछि धरानमा साउन २२ देखि दोस्रो चरणको लकडाउन घोषणा भए पनि समुदायको लापरवाहीकै कारण जिल्लाकै उच्च जोखिममा रहेको नगर बनेको छ । बिहान १० बजे सम्मका तरकारी बजार र खाद्यान्न पसलहरु खुल्ला गर्ने निर्णय गरिए पछि खरिद गर्न आउने समुदायले सुरक्षा नपनाएको मेहेताले बताए ।
उनले भने, ‘बजार खुल्ने समय देखि बाहेकका समयमा पनि एकै परिवारका धेरै सदस्यहरु बाहिर निस्कने, मास्क नलगाउने, सुरक्षा नपनाउने गरेको भेटिएको छ ।’
समुदायमा कसरी कोरोना संक्रमण फैलियो भन्ने अझै पनि पुष्टि हुन सकेको छैन् । मेहेताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको टोलिले अध्ययन गर्न थालिसकेको छ ।
केही दिन भित्रै प्रतिवेदन सार्वजनिक हुने उनले बताए । ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिए पछि अहिले नगर नै त्रसित बनेको छ । धरानमा बढ्दै गएको कोरोना संक्रमणलाइ न्युनिकरण गर्न समुदायनै सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
लकडाउन घोषणा गरिएको भए पनि अहिले धरानमा लकडाउन जस्तो अवस्था पटकै छैन । पछिल्लो समयमा आएर त धरानको मुख्य बजार क्षेत्रकै पसलहरू खुल्न थालेका छन् । बढ्दै गएको संक्रमणलाई न्युनिकरण गर्न लकडाउनलाई कडा पार्न सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।