धनकुटा, १४ भदौ / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन जडानको अन्तिम चरणमा पुगेको बताएका छन् ।
धनकुटा अस्पतालको स्तरोन्नति र धनकुटामा प्रदेश सरकारले बनाउने भनिएको शिक्षण अस्पतालको बारेमा छलफल र निरीक्षण गर्न आएका मन्त्री घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, प्रदेश अस्पताल र मेची अस्पताल पिसिआर परिक्षण मेसिन जडान गरिएको बताउँदै यसपछि अब धनकुटा र पाँचथरमा पिसिआर परिक्षण मेसिन राख्न लागिएको बताए ।
उनले धनकुटामा पिसिआर परिक्षण जडान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको र प्रदेश सरकारको सिफारिसमा संघीय सरकारबाट पनि बजेट विनियोजन भएको बताए ।
प्रदेश १ का छिमेकी मुलुक भारतसँग सिमाना जोडिएका जिल्ला झापा, मोरङ, सुनसरी र इलाममा कोरोना सक्रमण बढी रहेको उल्लेख गर्दै बाँकी अन्य जिल्लामा कोरोना संक्रमणको समस्या कम भएको मन्त्री घिमिरेले बताए ।
धनकुटा अस्पताललाई एक सय बेडको अस्पताल स्तरोन्नति गर्न र धनकुटा शिक्षण अस्पताल बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको पनि स्पष्ट पारे । सो अवसरमा धनकुटा अस्पताल र शिक्षण अस्पताल बनाउन प्रदेश सरकार समक्ष सिफारिस भएका ठाउँहरुको अनुगमन समेत मन्त्री घिमिरेले गरेका छन् ।