विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चार दिनपछि प्रशासनले उठाएको छ ।
विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शवगृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसंग समन्वय गरेपछि चा दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निर्देशक ई. रञ्जितराज बस्नेतले मृतकका छोरो कुरुवा बसेको र बुबाको मृत्युपछि उनी पनि बेपत्ता भएपति आफूहरुले नै शवगृहमा शव व्यवस्थापन गरेको जानकारी दिए ।
महोत्तरीको ती मृतकको शव लिन उताबाट समेत प्रशासनले चासो नदिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफैंले एम्बुलेन्सको व्यवस्थापन गरी आज त्यसतर्फ पठाई दिएका हुन ।
शव न्यूरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखेका हुन । प्राटोकलअनुसार नेपाली सेनाले शव उठाउने गरिन्छ । प्रजिअ निरौलाका अनुसार महोत्तरीमै सदगत गर्ने गरी शव पठाइएको हो ।
अस्पतालले ती पुरुषको उपचारमा लागेको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार खर्चसमेत छुट गरिदिएको जनाएको छ । गत साउन ३१ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनका टाउकाको नसा सुकेर लकुवा लागेको थियो । पछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।