धनकुटा, १३ भदौ ÷धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पूष्टि भएको हो ।
धनकुटाबाट ९५ जनाको पिसीआर परिक्षणको लागि पठाएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जस मध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।
संक्रमण देखिएका ती सबै पुरुष प्रहरी जवानहरु हुन् । उनीहरु एकमहिनाको अवधीमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरु सबै हालसम्म क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
कोरोना पोजेटिभ देखिएका मध्ये अन्य ६ जनामा ४ जना नेपाल टेलिकम धनकुटाका कर्मचारीहरु रहेका छन् भने एक जना बैकका कर्मचारी र एक जना सर्वसाधारण व्यापारी रहेका छन् ।
उनीहरु दुबै जना धनकुटा बजारवासी हुन् । धनकुटामा कोरोना भाइरसको संक्रमण देखिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यो सँगै धनकुटाका कोरोना भाइरसको संक्रमणको संख्या ३९ जना पुगेको छ भने १७ जना निको भएर घर फर्किसकेका छन् ।