धरान । गत विहिबार धरान ३ का एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुलाई २४ घण्टा सम्म होम आइसोलेसनमा बस्नु पर्यो । शुक्रबार धरान १५ का एक १० वर्षे बालक पनि घरमै छन् । शनिबार पनि उनका आमा र हजुरआमा सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर तुरुन्तै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्न सकिएको छैन् । धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा बेडको अभाव भए पछि उनीहरुलाई घरमै राख्न बाध्य भएको थियो ।
समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि संक्रमितहरुको उपचारको व्यवस्थापन पनि चुनौती पुर्ण बन्दै गएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश १ र २ कै कोरोना संक्रमित बिरामीहरु रिफर गरिने हुँदा सुनसरीका कोरोना संक्रमित बिरामीहरुको व्यवस्थापनमा कठिनाई हुने देखिएको छ ।
प्रतिष्ठानमा कोरोना संक्रमण देखिएका तर लक्षण नभएका बिरामीलाई राख्न ७० जनाको क्षमता भएको कक्ष रहेको छ, तर त्यहाँ पनि ८७ जना बिरामी छन् । लक्षण देखिएका संक्रमितहरुलाई लाई राख्न छुट्टै पेइङ वार्डलाई आइसोलेसन कक्ष पनि बनाइएको छ । थप लेभल ३ को कोभिड अस्पताल १९ पनि प्रतिष्ठानमा रहेको छ । प्रतिष्ठानले कोभिड १९ अस्पताल भने संचालनमा आइसकेको छैन् ।
पछिल्लो समय धरानमा मात्रै ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेका मध्ये २१ जना समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकाले दैनिक कोरोना संक्रमितका सम्पर्कमा रहेका बिरामीहरुको स्वाब परिक्षण गरिरहेको छ । गत २० गते यता ७ सय ९७ जनाको स्वाब परिक्षण गरिएकोमा १ सय ३० जनाको रिपोर्ट आउँदा ६ जनामा कोरोना पुष्टि भएको छ ।
धरानमा बढ्दै गएको कोरोना संक्रमणका बिरामीलाई प्रतिष्ठानमा व्यवस्थापन गर्न समस्या हुन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता बताउँछन् । उनले भने, ‘प्रतिष्ठानका चिकित्सकहरु सँग सल्लाह भइरहेको छ, बिरामी बढ्दै गएकाले बेडको समस्या हुन सक्छ, त्यसका लागि संक्रमण देखिएका तर लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा राख्नु पर्ने सुझाव आएको छ, त्यसको लागि धरान उपमहानगरपालिकाले नै व्यवस्थापन गर्ने तयारी भएको छ ।’ परिक्षणको मात्रा बढ्दै गएकाले पनि कोरोना संक्रमित थपिन सक्ने भएकाले अस्पतालमा आइसोलेसनमा राख्न समस्या हुने उनको भनाई छ ।
प्रतिष्ठानमा ३ तहका बिरामीलाई व्यवस्थापन गर्ने गरि तयारी भएकाले अहिले नै कुनै समस्या भने नआउने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘अहिले नै त्यस्तो समस्या त आउँदैन तर कोरोना संक्रमण बढ्दै गएकाले अभाव हुन सक्छ ।’ तर पब्लिक आफै पनि सचेत भएर कोरोनाको जोखिम न्युनिकरणमा लाग्नुपर्ने उनको सुझाव छ । कोभिड अस्पताल पनि केही दिनमै शुरु हुने तयारी भएकाले समस्या नहुने उनले बताए । उनले भने, सय जना व्यक्ति संक्रमित हुनुभयो भने, ३ देखि ५ जनालाई आइसोलेसन दिनुपर्ने हुन्छ, १ लाख सम्म पुग्यो भने ५ हजार जनालाई आइसोलेसन दिनुपर्छ, त्यस्तो अवश्थामा त पक्कै पनि चुनौती पुर्णनै रहन्छ ।
धरानमा प्रदेशका विभिन्न अस्पतालबाट प्रतिष्ठानमा रेफर भएर आउने बिरामीका संख्या बढ्दै गएको छ । जसका कारण धरान लगायत आसपासका बिरामीहरुको लागि आइसोलेसन कक्षको अभाव हुने निश्चित देखिएको छ । समयमै आइसोलेसन कक्ष थप तथा अन्य व्यवस्थापनमा सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी छ ।