धरान । धरानमा समुदाय स्तरमै कारोना संक्रमण फैलिदै गएको छ । अहिले सम्म कारोना संक्रमण देखिएका ४६ जना मध्ये समुदाय स्तरमै फैलिएको कोरोनाबाट संक्रमितको संख्या २१ पुगेको छ ।
बाँकीका २५ जना भने बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको पोजिटिभ देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । समुदाय स्तरमा कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले समुदायमै कोरोना परिक्षण शुरु गरेको थियो । पहिलो चरणमा गरिएको स्वाब परिक्षणमा ६ जनामा पोजिटिभ आएको छ । पहिलो चरणमा गरिएको १ सय ३० जनाको स्वाब संकलनमा ६ जनामा पोजिटिभ देखिएको उनले बताए ।
शुक्रबार दुई जनामा कोरोना पोजिटिभ देखिएको थियो भने शनिबार ४ जनामा कोरोना पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि भएकाहरु मध्ये धरान ४ का १० वर्षे बालक सहित धरान १५ का ३२ र ७१ वर्षिय महिला, धरान १० का १ जना पुरुष रहेका छन् । संक्रमितहरुको कन्टयाक्ट ट्रेसिङको तयारी भइरहेको मेहेताले बताए ।
उनका अनुसार लकडाउन खुकुलो भए पछि धरानमा कोरोनाको संक्रमण फैलिन थालेको हो । विदेशबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा उपचार पश्चात मात्रै घर जान दिइने गरिएको थियो । पहिलो पटक धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ तथा फिटिङस उद्योगका कर्मचारीबाट धरानमा समुदाय स्तरमै कोरोना पोजिटिभ देखिन थालेको हो ।
समुदायस्तरमै कोरोना संक्रमण देखिन थाले पछि धरान उमपहानगरपालिकाको स्वास्थ्य महाशाखाले ७ सय ९७ जनाको स्वाब संकलन गरिसकेको छ । जस मध्ये १ सय ३० जनाको मात्रै रिपोर्ट आइसकेको छ । अन्यको रिपोर्ट आउन बाँकी रहेको मेहेताले बताए ।