विराटनगर । मोरङको रंगेली नगरपालिकामा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २३ जना वडा नम्बर ७ का छन् । यो रंगेलीको बजार क्षेत्र हो ।
प्रदेश सरकारले संचालन गरेका कोभिड अस्पताल र आईसोलेसन सेन्टरहरु संक्रमितका कारण खचाखच भरिएकोले रंगेलीका सबै संक्रमितलाई नगरपालिकाले उतै व्यवस्थापन गर्ने तयारी गरेको हो ।
रंगेलीस्थित मुख्य बजारमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले मंगलबार ४ सय २३ जनाको स्वाब परीक्षण गराएको थियोे । शुक्रबार आएको रिपोर्टमा ३० जना सङक्रमित फेला परेका हुन ।
सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ६ महिला र १७ पुरुष वडा नम्बर ७ का छन् । उनीहरु बजार क्षेत्रका हुन । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्र मण्डलले संक्रमितहरुलाई नगरपालिकाले व्यवस्थापन गरेको स्थानीय जनता क्यापसको क्वारेन्टाइनमा राखिने बताउँदै भने,“प्रदेश सरकारले संचालन गरेका कोभिड अस्पताल र आईसोलेसन सेन्टरमा ठाउँ नभएकोले यतै राख्ने तयारी गरिएको हो ।” उनले संक्रमितहरुमध्ये कसैलाई लक्ष्यणसहितको स्वास्थ्य समस्या भए तत्काल अस्पताल पठाउने प्रबन्ध हुने जानकारी दिएका छन् ।
प्रदेश सरकारको ल्याबबाट रिर्पोट आउँदा एक्कासि ठूलो संख्यामा संक्रमण पुष्टि भएको बताउँदै रंगेली नगरपालिका मेयर दलिपि बगडियाले भने,“एकै पकट ठूलो संख्यामा संक्रमित देखिएकोले केही सकस त भएको छ तर हामीले प्रदेशका अस्पतालमा ठाउँ नपाउञ्जेल यतै जनता क्याम्पसको क्वारेन्टिन भवनमा राख्ने तयारी गरेका छौं ।” रंगेलीमा शुक्रबार पुष्टि भएका संक्रमितमध्ये एक जना क्वारेन्टिनका हुन भने बाँकी सबै समुदायका ।
समुदायमा कसरी पुग्यो संक्रमण ?
रंगेली नगरपालिका कार्यालयका अनुसार भारतको नयाँ दिल्लीबाट आएकी स्थानीय एक महिला विराटनगर १० स्थित होलटको क्वारेन्टिनमा बसिन । वडा कार्यालयले होटल क्वारेन्टिनमा बस्न इजाजत दियो ।
सोहीअनुसार होटललाई पत्राचार गरिदियो । तर, सावधानी नअपनाउँदा एकै परिवारका १४ जना कोरोना सर्न गएको नगरपालिकाको ठहर छ । वडा कार्यालयले होटल क्वारेन्टिनमा बस्न सिफारिस गरेपनि ती महिला क्वारेन्टाइनमा नबसी सिकिस्त बिरामी बुबालाई भेट्न विराटनगरकै न्यूरो अस्पतालमा पुगेकी थिइन । एक साताभित्रै रंगेली पुगिन । बुबाको निधन भयो । रंगेलीका आफन्तहरु प्नि अन्तिम क्रियामा सहभागी भए ।
काजकिरिया सकाएर घर फर्कने बेला महिला तथा सबै परिवारको स्वाब लिएर परीक्षण गर्दा १४ जनामा कोरोना देखियो । उनीहरुलाई बीपी प्रतिष्ठान धरान र मोरङको गोठगाउँस्थित आइसोलेसनमा पठाइएको छ । परिवारमा संक्रमण देखिएपछि नगरपालिकाले अन्य स्थानीयमा पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा थपमा संक्रमण देखिएको जनाएको छ । भारतबाट आएको व्यक्तिको विषयमा सम्बन्धित स्थानीय तहलाई विराटनगर महानगपालिकाले जानकारी नै नगराई क्वारेन्टिनको सिफारिस दिदाँ समस्या भएको रंगेलीका मेयर दिलिप बगडियाले बताए । भने,“कम्तिमा हामीलाई जानकारी गराई दिएको भए क्वारेन्टिनको व्यवस्थापन हामीले गर्ने थियौं ।”