विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ ।
विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी र साबुनको समेत व्यवस्थापन गरिएको छ ।
यसैबीच उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेशका जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई २ हजार थान मास्क, २४ बोतल स्यानिटाइजर र थप ५ लिटरको एक जार स्यानिटाइजर झोल सहयोग स्वरुप उपलब्ध गराएको संगठनका अध्यक्ष भीम घिमिरेले बताए ।