इलाम । इलाममा एकै दिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का १जना, इलाम नगरपालिका १० का ३ जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् ।
कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, गृषबाट आएका एकएक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए ।
उनीहरुको गत २८ गते स्वाब परिक्षणको लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् । इलाममा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो ।