धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ ।
आर्थिक बर्ष २०७७/०७८ का लागि नगरको पाँचौ नगरसभामा उपप्रमुख मञ्जु कार्की अधिकारीले महालक्ष्मी नगरपालिकाले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन् । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बराबरको बजेट ल्याएको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पु¥याएको हो । संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण गरिएको शसर्त, विशेष र समपुरक अनुदान तथा सामाजिक सुरक्षा भत्ता शीर्षकगत रुपमा तोकिएर आएको हुनाले त्यो बाहेक संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान, राजश्व बाँडफाँडको रकम र नगरको आन्तरिक स्रोतबाट जम्मा हुने २१ करोड ७६ लाख ६० हजार बजेट अनुमान गरिएको छ ।
जसबाट चालु खर्चतर्फ ९ करोड ७९ लाख ४७ हजार र विकास खर्चतर्फ ११ करोड ९७ लाख १३ हजार बजेट बिनियोजन गरिएको छ । चालु खर्चतर्फ ४५ प्रतिशत र विकास खर्चमा ५५ प्रतिशत बजेट तोकिएको छ । विकास खर्चलाई पाँच क्षेत्रमा बिभाजन गरी बजेट छुट्याईएको छ । जसमा पूर्वाधार विकासले प्राथमिकता पाएको छ । पूर्वाधार विकासलाई ५ करोड ५० लाख, सामाजिक विकासलाई २ करोड ५० लाख, आर्थिक बिकासलाई १ करोड ५० लाख तथा वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि समान १÷१ करोड बजेट बिनियोजन गरिएको छ ।
बजेटको आयतर्फ केन्द्र सरकारबाट सशर्त अनुदानमा २६ करोड ६५ लाख, वित्तिय समानीकरणमा ९ करोड ७७ लाख, राजश्व बाँडफाँडबाट ७ करोड ४९ लाख, विशेष अनुदान २ करोड २९ लाख र समपुरक अनुदान ४९ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट समपुरक अनुदानतर्फ १ करोड, सशर्त अनुदान २२ लाख, सामाजिक सुरक्षा भत्ता बापत ६ करोड ५९ लाख, वित्तिय समानीकरणमा ६९ लाख, सवारी कर बाँडफाँडबाट ६९ लाख प्राप्त हुने अनुमान छ ।
त्यसैगरी नगरको आन्तरिक स्रोततर्फ चालु आर्थिक बर्षको मौज्दात र आगामी आर्थिक बर्षको आन्तरिक आम्दानी ३ करोड २९ लाख आय अनुमान गरी बजेट निर्माण गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए ।