धनकुटा/ गोरु मुक्त नगर बनाउने अभियान अन्तरगत धनकुटा नगरपालिकाले किसानहरुलाई मिनी टिलर वितरण गर्न शुरु गरेको छ ।
धनकुटा नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै नगरलाई गोरु मुक्त बनाउने अभियान अन्तरगत कृषकहरुलाई कृषि औजार वितरण गरेको हो । प्रदेश नं. १ सरकार र धनकुटा नगरपालिकाको ८० प्रतिसत र कृषकहरुको २० प्रतिसत साझेदारीमा नगरभित्रका १६ वटा कृषक समूहलाई कृषि औजार वितरण गरेको हो । नगरका विभिन्न वडाका कृषक समूह छनौट गरी खेतबारी जोत्ने मिनी टिलर र दुध ढुवानीको लागि टेम्पो खरिद गरी वितरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उनले भने–‘खेतबारी जोत्ने गोरुको सट्टा कृषकहरुले गाई पालेर दुध उत्पादन गर्दा स्वास्थ्यलाई पनि राम्रो हुने र दुध बेचेर आम्दानी पनि बढ्ने भएकाले यो अभियान संचालन गरिएको हो ।’
परम्परागत रुपमा चल्दै आएको कृषि व्यवसायलाई आधुनिकतामा रुपान्तरण गर्दै कृषकहरुको आयआर्जनमा वृद्धि गर्न आवश्यक छ । त्यसकारण एक हल गोरुले एक दिनमा जोत्ने जमिन हाते मिनी टिलरले एक घण्टामा नै जोत्न सकिन्छ । कृषिमा आधुनिकीरण गर्न जरुरी देखिएकाले नगर क्षेत्रलाई गोरुमुक्त बनाउने अभियान कृषक समुहहरुलाई कृषि औजार खरिद गरेर विरतण गर्ने अभियान शुरु गरिएको नगर प्रमुख तामाङले बताए । यो अभियान प्रभावकारी बन्दै गएकाले आगामी बर्ष पनि निरन्तरता दिईनेछ ।
प्रदेश सरकारको शसर्त अनुदान २० लाख रुपैयाँ र धनकुटा नगरपालिकाको साझेदारीमा वितरण गरिएको मिनी टिलर गत बर्ष पनि नगरका केही कृषक समुहहरुलाई वितरण गरिएको थियो । सो अभियान दिन प्रतिदिन प्रभावकारी बन्दै गएपछि नगरपालिकाले यो अभियानलाई तिब्रता दिएको हो । उक्त कृषि औजार धनकुटा नगरपालिकाका प्रमुख तामाङ सहित उपप्रमुख सकुन्तला बस्नेत, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापा लगायतले कृषकहरुलाई हस्तान्तरण गरेका थिए ।