धनकुटा, २१ जेठ ÷धनकुटाको सहिदभूमि गाउँपालिकामा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मजदुरीको गर्ने क्रममा भारतको उत्तर प्रदेशबाट घर फर्किएका २४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । गएको जेठ १३ गते उनीसँगै सहिदभूमि घर फर्किएका चार जना मध्ये स्वाब परिक्षणको क्रममा २४ वर्षीय पुरुषको रिर्पोट पोजेटिभ आएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए ।
कोरोना पोजेटिभको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि हुन भने बाँकी रहेको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य तीन जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
सहिदभूमि गाउँपालिकाका ती युवामा कोरोना पोजेटिभ देखिएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यस अघि धनकुटामा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मीको परिवारलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको अहिले विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
सहिदभूमिमा कोरोना पोजेटिभ देखिएका युवा शुरुमा सामान्य विरामी भएपनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ती युवामा कोरोना पोजेटिभ देखिएसँगै उनलाई उपचारको लागि धरान या विराटनगर कहाँ लैजान भन्ने विषयमा छलफल भईरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।
उनलाई भोलि एम्बुलेन्स मार्फत उपचारको लागि लैजाने पनि गाउँपालिकाले जनाएको छ । सहिदभूमि गाउँपालिकाका अहिले पोजेटिभ रिर्पोट आएका एक युवा सहित १७ जना क्वारेन्टाइनमा रहेका छन् ।