प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ ।
आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ ।
परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ७ सय ५ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ५ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार २ सय ५२ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा शुक्रबारसम्म २९ करोड २९ लाख ७९ हजार ३ सय ५४ रुपैयाँ जम्मा भएको छ ।