काठमाडौं आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ ।
पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यस्तै दाङमा पनि पहिलोपटक कोरोनाको संक्रमण देखिएको छ । दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
हालसम्म नेपालका २५ जिल्लामा कोरोना संक्रमित देखापरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आजसम्म नेपालमा महिलाको तुलनामा पुरुषका बढी संक्रमित भएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार आजसम्म नेपालमा २६७ जना संक्रमित पुगेका छन् । तीमध्ये २१७ जना पुरुष छन् भने ५० जना मात्रै महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा पीसीआर विधिबाट २३ हजार ९१४ नमूना परीक्षण गरिएको छ भने ६३ हजार ८५ आरडीटी परीक्षण विधि बाट नमूना परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट एक हजार २५० र आरडीटी विधिबाट ७५८ नमूना परीक्षण भएका छन ्। देशभर क्वारेन्टाइनमा १५ हजार ६८३ जना छन् भने देशभर आइसोलेसनमा २६७ जना रहेको मन्त्रालयले जनाएको छ।
उपत्यका भित्र २७ जना र उपत्यका बाहिर २४० जना आइसोलेशनमा रहेका छन् ।
प्रदेश १ मा २२, प्रदेश २ मा १०२, बागमतीमा ३४, गण्डकीमा एक, प्रदेश नम्बर ५ मा १०८ जना आइसोलेसनमा छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कोही पनि आइसोलेसनमा नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको मोबाइल एप र वेभपेजमा आजसम्म ३७ हजार १४७ जनाले स्वमूल्यांक स्वास्थ्य सम्बन्धी विवरण भरेका छन् । जसमध्ये देशैभरका ३६३ जनालाई रेडजोनमा राखिएको छ।
कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये निको भएर घर फर्कीनेको संख्या ३६ पुगेको छ ।