लकडाउनका कारण मारमा परेका सर्वसाधारण नागरिकहरुलाई चौबिसे गाउँपालिका धनकुटाले राहत वितरण गरेको छ ।
लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ । चौबिसे गाउँपालिका अन्तरगत रहेका ८ वटा वडाका एक हजार १ सय १६ घरधुरीलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । राहत स्वरुप ४ जनासम्म परिवार संख्या रहेकालाई २५ केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको छ भने ४ जना भन्दा बढी परिवार सदस्य भएका परिवारलाई ५० केजी चामल, एक लिटर तेल र एक केजी नुन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले बताए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्नको लागि सरकारले गरेको निरन्तरको लकडाउनका कारण सर्वसाधारण नागरिकहरु मारमा परेपछि गाउँपालिकाले बैशाख २३ र २४ गते वडा कार्यालयहरुको सिफारिसमा वडा कार्यालयहरुबाट नै राहत वितरण गरेको थियो । उक्त राहत वितरण अन्तरगत वडा नं. १ का ८५, वडा नं. २ का ९२, वडा नं. ३ का २७९, वडा नं. ४ का १९१, वडा नं. ५ का १७८, वडा नं. ६ का ४७, वडा नं. ७ का १०४ र वडा नं. ८ का १४० घर परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ ।
यसैबीच धनकुटाको चौबिसे गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढी रकम जम्मा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र राहत वितरणका लागि ३१ लाख ७६ हजार ८ सय २५ रुपैयाँ कोषमा जम्मा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले २० लाख ७५ हजार रकम कोषमा जम्मा गरेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले १५ दिनको तलब भत्ता बराबरको २ लाख ५० हजार रकम जम्मा गरेका छन् । त्यस्तै प्रदेश सरकारले ५ लाख रकम दिएको छ ।
निजी क्षेत्रबाट प्रदान गरिएको मध्ये चौबिसे–३ स्थित तमर परम कल्चर सिकाई थलोले सर्वाधिक २ लाख २० हजार रकम कोषमा जम्मा गरेको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै चौबिसे ईसाई समाजले ४२ हजार, माउण्ट एभरेष्ट विनेरीले ३० हजार, जीवन विकास लघुवित्त बुधबारे शाखाले २५ हजार र जीवन विकास लघुवित्त राजारानी शाखाले २५ हजार रकम कोषमा जम्मा गरेका छन् । कोषमा जम्मा भएको रकमबाट गाउँपालिकाले अहिले लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण गरिरहेको छ ।