धरान/ घरेलु मैदानमा जारी महिला गोल्डकप प्रतियोगितामा आयोजक स्वर्णिम क्लबमाथि नेपाल पुलिस क्लबले गोलको वर्षा गरेको छ।
एकपक्षीय खेलमा आयोजकलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ।
बिहीबार धरान–१६ स्थित धरान रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले आयोजक स्वर्णिम क्लबलाई कुनै अवसर नदिई शानदार जित निकालेको हो।
पुलिसको जितमा मिना देउवा र रेखा पौडेलले दुई–दुई गोल गरे भने बिर्षना चौधरी र अनुश्का शेर्पाले एक–एक गोल थपे।
खेलको छैटौँ मिनेटमै मिना देउवाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्।
३०औँ मिनेटमा रेखा पौडेलले गोल थप्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफको ३४औँ मिनेटमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–० को अग्रता बनायो।
दोस्रो हाफमा पनि पुलिसको आक्रमण रोकिएन। रेखा पौडेलले ९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्।
त्यसपछि १६औँ मिनेटमा बिर्षना चौधरी र ३२औँ मिनेटमा अनुश्का शेर्पाले गोल थपेपछि पुलिसले ६–० को शानदार जित दर्ता गर्यो।
दुई गोल गरेकी मिना देउवा खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
यसअघि पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब उपाधिका लागि मङ्सिर ५ गते एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आयोजक डी–१९ क्लबका अनुसार प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली आमनेसामने हुनेछन्।