सुनसरी/ मकवानपुरमा यात्रुवाहक माइक्रोबस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
आज (बिहीबार) बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा दुर्घटनामा परेको हो।
प्राप्त प्रारम्भिक विवरणअनुसार माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइतेको उद्धार गरिएको छ।
माइक्रोबसमा चालकसहित १५ जना सवार रहेको खुलेको छ। मृतक तथा घाइतेहरूको पहिचान र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।