झापा/ झापाको कमल गाउँपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित १२ जनालाई पक्राउ गरेको छ ।
कमल गाउँपालिका–५ निवासी ४५ वर्षीया गीता भट्टराईको घरमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ ६ः३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भट्टराईको घरमा छापा मारेको थियो । त्यसक्रममा जुवा खेलिरहेका १२ जनालाई नगद र ताससहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ
प्रहरीले उनीहरूको साथबाट एक लाख ९१ हजार ८ सय रुपैयाँ नगद, पाँच बुङ तास र नौ थान मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी भट्टराईसहित १२ जना छन् ।
पक्राउ पर्नेहरूमा कमल गाउँपालिका–५ का ३१ वर्षीय अशोक पौडेल, ४० वर्षीय अमर धिताल, ४८ वर्षीय देवेन्द्र कुइँकेल, ४५ वर्षीय सहदेव धिमाल , ४१ वर्षीय बाबुराम राई, १८ वर्षीय राजु राजवंशी, ३५ वर्षीय दीपक धिमाल , ४७ वर्षीय अर्जुन थापा, ४३ वर्षीय दुर्गा प्रसाद अधिकारी र ३७ वर्षीय तिलकबहादुर कार्की रहेका छन् ।
प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।