धरान/ धरानमा दोस्रो संस्करणको ‘गोधारा फेस्टिभ कप यू–१४’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
धरान–३ स्थित ‘युवा साथी’ संस्थाको आयोजनामा असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
बालबालिका तथा युवालाई कुसंगत, कुलत तथा मोबाइललगायतका विद्युतीय उपकरणको अत्यधिक प्रयोगबाट टाढा राख्दै उनीहरूको सर्वांगीण विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
नयाँ प्रतिभालाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्दै भविष्यका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत आयोजकको रहेको छ।
प्रतियोगिताको कुल बजेट ६ लाख रुपैयाँ रहेको छ। प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजयपुर एकेडेमी, यारसा एकेडेमी, तारहरा एफसी, देउराली एफसी, धरान सिटी एफसी, डीपीएस विराटनगर, इटहरी एफसी, चतरा एफसी र काकरभिट्टा एफसीलगायत टोलीको सहभागिता रहने सम्भावना रहेको छ।
प्रतियोगिता सफल बनाउन स्थानीय खेलप्रेमी, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूबाट आर्थिक तथा नैतिक सहयोगका लागि आयोजक युवा साथीका अध्यक्ष सरल उदासले जानकारी दिएका बताएका छन्।