फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खुकुरी देखाएर धाकधम्की दिइरहेको अवस्थामा प्रहरीले एक युवकलाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ सिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्।
प्रहरीका अनुसार भदौ ४ गते यासोक बजारमा तुम्रोकले धारिलो हतियार खुकुरी देखाउँदै धाकधम्की दिइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।
खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दापसहितको दुई थान खुकुरी, इन्सास राइफलको एक राउण्ड लाइभ गोली र बारुद २७.७१ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित तुम्रोकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई अनुसन्धान अघि बढाइएको छ।
उनलाई खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालत फिदिमबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।