इटहरी/ युवा कवि तथा नेपाली साहित्यका धरोहर मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा इटहरी–६ स्थित मोडर्न प्रिपरेटरीमा विशेष कार्यक्रम आयोजना गरी मोतीराम जयन्ती मनाइएको छ।
वि.सं. २०४९ सालदेखि इटहरीमा शैक्षिक सेवा दिँदै आएको विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले मोतीराम भट्टद्वारा रचित विभिन्न गजल वाचन गरेका थिए।
विद्यार्थीहरूले मोतीराम भट्टको जीवन, व्यक्तित्व तथा नेपाली भाषा र साहित्यको विकासमा उहाँले पुर्याएको योगदानबारे समेत चर्चा गरेका थिए।
कार्यक्रममा नेपाली विषयकी शिक्षिका समीक्षा दाहालले मोतीराम भट्टले नेपाली भाषा तथा साहित्यको विकासमा पुर्याएको योगदानबारे प्रकाश पार्दै उहाँ नेपाली साहित्यमा गजल विधाको विकास र साहित्यिक जागरणका महत्वपूर्ण व्यक्तित्व रहेको बताउनुभयो।
नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षणसमेत बढ्दै गएको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले नेपाली साहित्य र साहित्यकारप्रति विद्यार्थीहरूमा रुचि तथा सम्मान बढाउन सहयोग पुगेको विद्यालयको भनाइ छ। कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।
