काठमाडौं/ पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेको हो ।
विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रालिले सहयोग गरेको हो ।
विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सरकारको अभियानमा प्रालिले उक्त रकम हस्तान्तरण गरेको प्रालिका अध्यक्ष खरेलले बताउनुभयो ।
पश्चिम नेपालका यातायात व्यवसायीहरूको प्रतिष्ठित तथा व्यवस्थित संस्थाका रूपमा लामो समयदेखि सार्वजनिक यातायात क्षेत्रमा सेवा दिँदै आएको प्रालिले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत सहयोग गरेको हो ।
चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष खरेलले बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु यातायात व्यवसायीको सामाजिक दायित्व भएको बताउनुभयो ।
उहाँले यातायात व्यवसायी तथा मजदुर परिवारको तर्फबाट विपद्मा परेका नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको स्पष्ट पार्नुभयो ।
“विपद् कसैको व्यक्तिगत समस्या मात्र होइन, यो समग्र समाजको साझा पीडा हो ।
यस्तो कठिन समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय र सामाजिक दायित्व हो,” अध्यक्ष खरेलले भन्नुभयो, “राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा आफ्नो क्षेत्रबाट योगदान पुर्याउने उद्देश्यले यो सहयोग गरेका हौँ ।”
पश्चिम नेपाल बस व्यवसायी प्रालिले सार्वजनिक यातायात सञ्चालनसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफनो कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा बनाउँदै आएको जनाएको छ ।
प्राकृतिक विपद्, दुर्घटना तथा अन्य संकटका समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने परम्परालाई निरन्तरता दिँदै यसपटक पनि राहत कोषमा योगदान गरिएको प्रालिको भनाइ छ ।
बाढीका कारण धेरै परिवार विस्थापित हुनुका साथै कतिपयले आफन्त गुमाएका छन् भने कतिपय नागरिक अझै बेपत्ता रहेका छन्।
सडक, पुल, यातायातका साधन तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेका कारण प्रभावित क्षेत्रमा दैनिक जनजीवन र आवागमन प्रभावित भएको छ।
यस्तो अवस्थामा राहत सामग्री, उद्धार तथा पुनःस्थापनाका लागि राज्य, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबाट सहयोग आवश्यक देखिएको छ ।
प्रालिले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
साथै, बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोज तथा सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।
यातायात क्षेत्रलाई केवल यात्रु ओसारपसार र व्यवसायसँग मात्र सीमित नराखी विपद्को समयमा समाजको दुःखमा साझेदार बनाउने प्रयासका रूपमा पश्चिम नेपाल बस व्यवसायी प्रालिको यो सहयोगलाई हेरिएको छ।
विपद्को पीडामा एकसाथ उभिँदै गरिएको यस्तो सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई थप बलियो बनाएको छ।