विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ।
गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो।
प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरामा राखिएको अन्दाजी ६० किलो लागूऔषध गाँजा फेला परेको हो। बरामद गाँजासहित भ्यानलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी दरैयामा ल्याएर राखिएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद गाँजा र भ्यान नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।