धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने एजेण्डासहित नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन आगामी भदौ १५ गते धरानमा हुने भएको छ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घअन्तर्गत रहेको सङ्घले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै भदौ १५ गते सोमबार धरान–१० स्थित यलम्बर स्मृति सङ्ग्रहालयमा महाधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो।
महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन क्षेत्रबाट ३/३ जना प्रतिनिधि, एउटामात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट ४ जना तथा काठमाडौं उपत्यकाबाट समेत प्रतिनिधिसहित १५० भन्दा बढी प्रतिनिधि सहभागी हुने सङ्घका अध्यक्ष आनन्दसन्तोषी राईले बताए।
सङ्घले धरानलाई ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक केन्द्रका रूपमा प्रस्तुत गर्दै नेपाली कांग्रेसको विचार, दर्शन र सिद्धान्तलाई आत्मसात् गर्ने तथा पार्टीको विधान, नियम र निर्देशनअनुसार देश र जनताको सेवामा समर्पित राजनीतिक कार्यकर्ता निर्माण गर्ने उद्देश्यले महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ।
महाधिवेशनको बन्दसत्रमा सङ्घको विधान संशोधन तथा परिमार्जन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ केन्द्रीय नेतृत्व चयन गरिने सङ्घका उपाध्यक्ष सुवास राईले जानकारी दिए।
सङ्घका अनुसार महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय नेतासहित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले गर्नेछन्। बिहान ९ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रम रुखमा पानी हालेर गरिने जनाइएको छ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा नेपालमा विभिन्न संघर्ष र आन्दोलनमार्फत राजनीतिक परिवर्तन ल्याउन विश्वसिंह लाओ, बुद्धिमान राई तथा लिम्बू, मगर, गुरुङलगायत आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।
सङ्घले पार्टी र राज्यको नेतृत्व सम्हाल्न सक्षम तथा योग्य नयाँ पुस्ताको आवश्यकता रहेको भन्दै प्रथम महाधिवेशनले त्यस दिशामा सक्षम नयाँ नेतृत्व निर्माण गर्ने विश्वास व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुख तिलक राई, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईलगायतको उपस्थिति थियो।
सङ्घले महाधिवेशनलाई सफल बनाउन सञ्चारकर्मी, राजनीतिक दल तथा सरोकारवाला सबैको सहयोगका लागि आग्रह गरेको छ।