सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र एलकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा बालबालिकाको प्रारम्भिक विकास, उचित हेरचाह, सुरक्षा, संरक्षण तथा सिकाइमा अभिभावकको भूमिकाबारे जानकारी दिइएको थियो।
कार्यक्रममा सेतो गुराँस सुनसरीकी सचिव भीमा राईले सहजकर्ताका रूपमा प्रारम्भिक बालविकासको अवधारणा, यसको महत्व तथा बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, भाषिक र सांस्कृतिक विकासका पक्षबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाको प्रारम्भिक सिकाइलाई प्रभावकारी बनाउन घर तथा विद्यालयको वातावरण महत्वपूर्ण हुने बताउनुभयो।
त्यसैगरी बालबालिकालाई हिंसा, दुर्व्यवहार, दुर्घटना तथा विभिन्न जोखिमबाट जोगाउँदै सुरक्षित वातावरण प्रदान गर्नुपर्ने विषयमा समेत अभिभावकलाई सचेत गराइएको थियो। बालबालिकाको सर्वाङ्गीण विकासका लागि घरमै सिर्जनात्मक तथा उत्प्रेरणात्मक सिकाइको वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो।
विद्यालयका प्रिन्सिपल राजकुमार राईले अभिभावकलाई आफ्ना बालबालिकाप्रति थप जिम्मेवार बनाउँदै उनीहरूलाई कसरी उचित ढंगले हुर्काउने भन्ने विषयमा आवश्यक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीका अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो।