झापा/ झापा गाउँपालिका–५ को वडा कार्यालयमा राति झ्यालको सिसा फुटाएर प्रवेश गरी करिब दुई लाख ५५ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भदौ ५ गते राति वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर कार्यालयभित्र प्रवेश गरी ल्यापटप, मनिटर, स्क्यानर, पेनड्राइभ तथा डिजिटल फिङ्गरप्रिन्ट रिडर चोरी भएको थियो।
घटनाको जानकारी भदौ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि प्रहरी निरीक्षकको कमाण्ड तथा प्रहरी चौकी शरणामतीको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा चोरीमा संलग्न भएको आशंकामा झापा गाउँपालिका–५ कै २० वर्षीय अर्जुन गणेश पक्राउ परेका हुन्। प्रहरीले उनको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा चोरीका अधिकांश सामग्री बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा गणेशले चोरी गरेको ल्यापटप भारतको किसनगञ्ज जिल्ला, डिघलबैंकमा लगेर बिक्री गरिसकेको खुलेको प्रहरीले जनाएको छ। बाँकी एक थान मनिटर, एक थान स्क्यानर, दुई थान पेनड्राइभ र एक थान डिजिटल फिङ्गरप्रिन्ट रिडर भने हैचाबारी क्षेत्रमा लुकाएर राखेको अवस्थामा फेला पारेर बरामद गरिएको छ।
पक्राउ परेका गणेशमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।