इनरुवा/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो करिब २ बजे इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ निवासी ४३ वर्षीय अर्जुन राई र सोही स्थानका ३३ वर्षीय प्रेमबहादुर राई रहेका छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प १३५ नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरीले रोकी खानतलासी गर्दा उनीहरूको साथबाट ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।